• सोमबार, १ भदौ, २०८३
  • Monday, 17 August, 2026
  • X

'क्यानाडामा आधा इमर्जेन्सी डाक्टरद्वारा कामको समय कटौती'

नेपालTouch
मंगलबार श्रावण १२, २०८३ | Tuesday July 28,2026
-नेपाल टच ग्राफिक्स

अन्टारियो । क्यानाडाको बिग्रँदो स्वास्थ्य प्रणाली र अत्यधिक कार्यबोझका कारण मुलुकभरका इमर्जेन्सी कक्षका डाक्टरहरु गम्भीर तनाव र निराशा सामना गरिरहेका छन्। हालै सार्वजनिक भएको एक राष्ट्रिय सर्वेक्षण अनुसार, क्यानाडाका ५० प्रतिशत इमर्जेन्सी कक्षका डाक्टरहरुले आफ्नो काम गर्ने समय घटाएका छन् भने १० प्रतिशतले यो पेशा नै छाडिसकेका छन्।

'क्यानेडियन मेडिकल एसोसिएसन जर्नल' मा प्रकाशित उक्त अध्ययन प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रमा देखिएको संरचनात्मक समस्या, श्ययाको अभाव र बिरामीको अत्यधिक चापका कारण डाक्टरहरुमा मानसिक तथा शारीरिक थकान तीव्र रूपमा बढेको छ। सर्वेक्षणमा सहभागी धेरैजसो डाक्टरहरुले वर्तमान स्थितिलाई अकल्पनीय र निराशाजनक भन्दै आपतकालीन स्वास्थ्य प्रणाली संकटग्रस्त बनेको बताएका छन्।

क्यानाडामा बसोबास गर्ने नेपाली समुदाय लगायत सर्वसाधारणले पछिल्लो समय अस्पतालका इमर्जेन्सी कक्षहरूमा लामो समय कुर्नुपरेको र सेवा पाउन कठिनाइ भइरहेको सन्दर्भमा यो प्रतिवेदन बाहिर आएको हो। इमर्जेन्सी कक्षहरूमा डाक्टरहरुको संख्या घट्दै जाँदा बिरामीहरूले प्राथमिक उपचार र इमर्जेन्सी सेवाका लागि घण्टौंसम्म कुर्नुपर्ने बाध्यता थप बढेको छ।

प्रतिवेदन अनुसार कार्यघण्टा घटाउने र पेशा छाड्ने डाक्टरहरुको संख्या वृद्धिसँगै कार्यरत जनशक्तिमाथि थप दबाब परेको छ। यसले इमर्जेन्सी कक्षको कार्यक्षमतामा गम्भीर असर पारेको छ भने उपचारका लागि आउने जटिल बिरामीहरूको स्वास्थ्य जोखिम समेत बढाएको छ।

स्वास्थ्य क्षेत्रका विज्ञ तथा डाक्टरहरुका संघ-संस्थाहरूले क्यानाडाको इमर्जेन्सी स्वास्थ्य सेवालाई थप धराशायी हुनबाट जोगाउन तत्काल सुधारका कदम चाल्न सरकारसँग माग गरेका छन्। कार्यस्थलको वातावरणमा सुधार, जनशक्तिको उचित व्यवस्थापन र स्वास्थ्य प्रणालीमा दीर्घकालीन लगानी नगरेसम्म यो समस्या झन् भयावह बन्ने चेतावनी उनीहरूले दिएका छन्।

तपाईंको प्रतिक्रिया