• सोमबार, १ भदौ, २०८३
  • Monday, 17 August, 2026
  • X

क्यानाडामा आप्रवासीहरूको जन्मदर पनि घट्दै: अध्ययन

नेपालTouch
शनिबार श्रावण १६, २०८३ | Saturday August 01,2026
-नेपाल टच ग्राफिक्स

अन्टारियो ।  क्यानाडामा बसोबास गर्दै आएका आप्रवासीहरूको जन्मदर पनि यहाँका स्थानीय नागरिकहरूकै स्तरमा घट्दो क्रममा रहेको एक नयाँ अध्ययनले देखाएको छ। क्यानाडाको जनसङ्ख्या वृद्धि र आर्थिक सन्तुलनका लागि आप्रवासनलाई मुख्य आधार मानिँदै आएको भए पनि आप्रवासीहरूमाझ देखिएको यो परिवर्तनले मुलुकको दीर्घकालीन जनसाङ्ख्यिकीय चुनौतीलाई थप जटिल बनाएको छ।

'पपुलेसन रिसर्च एन्ड पोलिसी रिभ्यु' जर्नलमा प्रकाशित दुई दशक लामो अध्ययन अनुसार क्यानाडा भित्रिने आप्रवासीहरूले पनि यहाँको कम जन्मदरको संस्कार अपनाउन थालेका छन्। वेस्टर्न युनिभर्सिटीका समाजशास्त्री तथा जनसाङ्ख्यिकीविद् प्राध्यापक रेचेल मार्गोलिस, प्राध्यापक हावर्ड रामोस, युए तेङ र योको योशिडाद्वारा गरिएको यस अध्ययनले क्यानाडामा आर्थिक श्रेणी (इकोनोमिक स्ट्रिम) अन्तर्गत आउने अधिकांश आप्रवासीहरूमा जन्मदर निकै न्यून रहेको उल्लेख गरेको छ।

विगतमा क्यानाडामा जन्मेका नागरिकको तुलनामा आप्रवासीहरूको जन्मदर बढी हुने गरे पनि पछिल्ला वर्षहरूमा यो अन्तर द्रुत गतिमा घट्दै गएको छ। पारिवारिक भिसा वा शरणार्थीका रूपमा आएका आप्रवासी समूहको जन्मदर तुलनात्मक रूपमा केही बढी देखिए पनि त्यो जनसङ्ख्या प्रतिस्थापनका लागि आवश्यक मानिने प्रतिमहिला २.१ बच्चाको न्यूनतम दरभन्दा कमै रहेको अध्ययनमा जनाइएको छ।

क्यानाडामा सन् २०२४ सम्ममा कुल प्रजनन दर घटेर प्रतिमहिला १.२५ बच्चामा झरेको छ, जसले क्यानाडालाई इटाली, फिनल्यान्ड र दक्षिण कोरिया जस्ता 'अत्यधिक कम जन्मदर' भएका मुलुकहरूको सूचीमा पुर्‍याएको छ। यसका साथै क्यानाडामा सबैभन्दा बढी आप्रवासी भित्रिने भारत जस्ता प्रमुख देशहरूमा पनि प्रजनन दर घटेर १.९ मा झरिसकेको छ।

अध्ययनका अनुसार आप्रवासीहरू क्यानाडा आएपछि यहाँका स्थानीय बासिन्दा जस्तै आर्थिक तथा सामाजिक दबाबको सामना गर्न बाध्य हुन्छन्। घरको उच्च मूल्य, जीवनयापनको बढ्दो खर्च, रोजगार र करियरको व्यस्तता तथा स्वास्थ्य सम्बन्धी विविध कारणले गर्दा धेरैजसो दम्पतीहरूले चाहेर पनि धेरै बच्चा जन्माउन सकिरहेका छैनन्।

शोधकर्ताहरूका अनुसार जनसङ्ख्याको वृद्धावस्था र श्रमशक्तिको अभाव पूर्ति गर्न केवल आप्रवासनमा निर्भर रहने सरकारी रणनीति अल्पकालीन समाधान मात्र साबित हुन सक्छ। आप्रवासीहरू स्वयं उमेर ढल्किँदै जाँदा र उनीहरूका सन्तानको सङ्ख्या पनि कम हुँदै जाँदा क्यानाडाले भविष्यमा झनै गम्भीर जनसाङ्ख्यिकीय र आर्थिक सङ्कटको सामना गर्नुपर्ने चेतावनी विज्ञहरूले दिएका छन्।

तपाईंको प्रतिक्रिया