• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

अटवा रिसर्च कन्फरेन्स सम्पन्न, अर्को वर्ष टोरन्टोमा हुने

नेपालTouch
आइतबार श्रावण ३१, २०८३ | Sunday August 16,2026
सबै तस्विर- संस्कृति बुढाथोकी

अटवा । क्यानाडाको राजधानीमा सञ्चालित ‘अटवा रिसर्च कन्फरेन्स २०२६’ आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। अटवास्थित युनिभर्सिटी अफ अटवामा जारी कन्फरेन्स दर्जनौँ खोज तथा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुतिपश्चात् सम्पन्न भएको हो। क्यानाडालाई कर्मथलो बनाउँदै आएका नेपाली मूलका दर्जनौँ बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरू कन्फरेन्समा सहभागी थिए। 

कन्फरेन्सको दोस्रो तथा अन्तिम दिन कृषि, वातावरण, समाज तथा संस्कृति जस्ता बहुआयामिक विषयहरूमा केन्द्रित रही महत्त्वपूर्ण अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरिएका थिए।

सेनेका कलेजकी निरा शर्माको अध्यक्षतामा सञ्चालित कृषि, वन तथा खाद्य सुरक्षा विषयक सत्रमा लाभाल युनिभर्सिटीका विवेक भण्डारी, सेवक भट्ट र शुवहरि गौतम तथा वाटरलु युनिभर्सिटीका राधेश्याम मालाकारले काठको आपूर्ति शृङ्खला, दिगो वन व्यवस्थापन र दिगो विकाससम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए।

नेचुरल रिसोर्स क्यानाडाका वीरेन्द्र सापकोटाको अध्यक्षतामा भएको वातावरण तथा दिगोपना सत्रमा युनिभर्सिटी अफ अटवाका सुनिथा विसन, तारा हाउज र रिया ओस्ती, नेचुरल रिसोर्स क्यानाडाका अजय विष्ट र अमिति विष्ट, एलआरएल इन्जिनियरिङका मोहन बस्नेत तथा क्विन्स युनिभर्सिटीका होमनाथ घर्ती लगायतले ऊर्जा नीति, ग्रिन टेक्नोलोजी, खानेपानी प्रशोधन र भू-भौतिकीसम्बन्धी खोजमूलक अध्ययन प्रस्तुत गरे।

युनिभर्सिटी अफ विन्सरका गोकुल भण्डारीको अध्यक्षतामा सम्पन्न समाज, संस्कृति तथा मानव विकास सत्रमा रोयल रोड्स युनिभर्सिटीका बलि राई, मेमोरियल युनिभर्सिटीका कमल कुमार नेपाली, लरेन्सियन युनिभर्सिटीका शिव आचार्य, युनिभर्सिटी अफ टोरन्टोकी कृतिशा आचार्य र युनिभर्सिटी अफ रेजिनाका शशांक चालिसेले नेपालको आदिवासी संस्कृति, लैङ्गिक न्याय, क्यानाडाका आदिवासी समुदायसँगको सम्बन्ध सुधार, औषधि विकास र कार्यस्थलमा हुने विभेदसम्बन्धी अनुसन्धान प्रस्तुत गरेका थिए।

दुई दिनसम्म चलेको यो ऐतिहासिक अनुसन्धान कन्फरेन्स औपचारिक रूपमा समापन भएपछि सामुहिक दिवाभोजन गरियो।

आयोजक संस्थाका सभापति तथा युनिभर्सिटी अफ अटवाका आंशिक प्राध्यापक डा. भानुभक्त आचार्यले यसपटकको सम्मेलन पनि विगतजस्तै अर्थपूर्ण र उपलब्धिमूलक भएको जानकारी दिँदै अर्को वर्ष टोरन्टोमा अझ व्यापक सहभागितासहित आयोजना गरिने जानकारी दिए।

“अटवामा हामीले लगातार ५ पटक बौद्धिक र प्राज्ञिक विमर्श गर्दै कन्फरेन्स सफल पार्यौँ,” डा. आचार्यले नेपाल टचसँग भने, “अझ व्यापक सहभागिता जुटाउन र क्षेत्रगत विस्तार गर्न अर्को वर्षको छैटौँ कन्फरेन्स सायद टोरन्टोमा गर्नेछौँ।”

यसअघि कन्फरेन्सको उद्घाटन क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौडेलले प्रमुख अतिथिका रूपमा हिजो पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कन्फरेन्समा क्यानाडाका विभिन्न कलेज तथा युनिभर्सिटीका शिक्षक, प्राध्यापकका साथै अमेरिकाका पनि प्राज्ञिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रमै अटोवा निवासी डा. वासु शर्मा सम्पादक रहेको ‘डायस्पोरा रिसर्च’ नामक जर्नल विमोचन गरिएको थियो, जसमा विभिन्न क्षेत्रमा स्थापित १६ जना लेखकका रचना प्रकाशित छन्। कन्फरेन्स सफल पार्न क्यानाडाका विभिन्न नेपाली संघ-संस्था तथा व्यापारिक प्रतिष्ठानहरूले आर्थिक तथा अन्य किसिमले सहयोग पुर्‍याएका थिए।

तपाईंको प्रतिक्रिया