• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

क्यानाडाद्वारा स्टडी पर्मिटका लागि ६ महिनाको बैंक स्टेटमेन्ट अनिवार्य

नेपालTouch
शनिबार श्रावण १६, २०८३ | Saturday August 01,2026
-Agency

अन्टारियो ।  क्यानाडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि दिइने विद्यार्थी अनुमतिपत्र (स्टडी पर्मिट) आवेदनमा आर्थिक क्षमता परीक्षणसम्बन्धी नियमहरू थप कडा बनाएको छ। अध्यागमन, शरणार्थी तथा नागरिकता क्यानाडा (आइआरसिसी) ले आफ्ना अध्यागमन अधिकारीहरूका लागि जारी गरेको नयाँ निर्देशिकाअनुसार अब आवेदन दिने सबै विद्यार्थीको आर्थिक स्रोत र रकमको विस्तृत छानबिन अनिवार्य रूपमा गरिनेछ।

गत २०२६ जुलाई २४ मा अद्यावधिक गरिएको निर्देशिकाअनुसार विद्यार्थीहरू अध्ययन अवधिभर आफ्नै खर्चमा बस्न र पढ्न सक्षम छन् वा छैनन् भन्ने सुनिश्चित गर्न आवेदक तथा उनीहरूका परिवारको आर्थिक र रोजगारीसम्बन्धी पूरक कागजातहरूको समीक्षा तथा प्रमाणीकरण गरिनेछ। यसअघि उच्च जोखिम भएका क्षेत्रहरूबाट आउने आवेदनमा मात्र यस्ता पूरक कागजात खोतल्ने गरिन्थ्यो भने नयाँ व्यवस्थामा उक्त सीमा हटाएर सबै आवेदनमा यो नियम लागू गरिएको छ।

यसै गरी अधिकारीहरूले अतिरिक्त कागजात माग गर्ने अधिकार अब आवेदकको पृष्ठभूमि वा सम्भावित जोखिमका आधारमा नभई आवेदनमा पेस गरिएका प्रत्यक्ष तथ्यहरूका आधारमा प्रयोग गर्नेछन्। आर्थिक प्रमाणका रूपमा पेस गरिने बैंक स्टेटमेन्टको अवधि पनि परिमार्जन गरिएको छ। यसअघि पछिल्लो चार महिनाको बैंक स्टेटमेन्ट आवश्यक पर्नेमा अब आवेदन पेस गर्नुभन्दा अघिल्लो वा सोही महिनासम्मको कुल छ महिनाको बैंक विवरण पेस गर्नुपर्नेछ।

स्टडी पर्मिट नवीकरण वा म्याद थप गर्ने आवेदकहरूका लागि भने थपिएको अवधिपछिको पहिलो वर्षको खर्च धान्न सक्ने आर्थिक क्षमता मूल्याङ्कन गरिनेछ। आइआरसिसीले वित्तीय प्रमाणका रूपमा पेस गर्न सकिने कागजातको सूचीमा पेन्सन (निवृत्तिभरण) बाट हुने आम्दानी र घरभाडा वा सम्पत्ति भाडाबाट आउने आम्दानीलाई नयाँ उदाहरणका रूपमा थपेको छ। अर्कातिर, क्यानेडियन डलरमा साट्न सकिने 'बैंक ड्राफ्ट' लाई भने स्वीकृत कागजातको सूचीबाट हटाइएको छ।

अध्यागमन विभागले आर्थिक जाँचको प्रक्रियालाई कडा बनाए पनि आवश्यक न्यूनतम रकममा भने कुनै परिवर्तन गरेको छैन। आवेदकहरूले शिक्षण शुल्क र क्यानाडा आवतजावत गर्ने यात्रा खर्चबाहेक एक वर्षको जीवनयापनका लागि तोकिएको निश्चित रकम देखाउनुपर्नेछ। हाल क्युबेकबाहिर अध्ययन गर्न जाने र परिवारका अन्य सदस्य नभएका एकल आवेदकका लागि न्यूनतम २२,८९५ क्यानेडियन डलर आवश्यक पर्दछ। यो रकम परिवारको सदस्य सङ्ख्या, अध्ययन गर्ने प्रान्त र विशेष कार्यक्रमका आधारमा फरक पर्छ।

क्यानाडाले पछिल्लो समय अन्तर्राष्ट्रिय विद्यार्थी प्रणाली र शरणार्थी आवेदन प्रक्रियामा कडाइ गर्ने नीतिको निरन्तरता स्वरूप यो नयाँ कदम चालेको हो। गत २०२६ मार्च २३ मा सार्वजनिक गरिएको क्यानाडाका महालेखापरीक्षकको प्रतिवेदनअनुसार सन् २०२३ र २०२४ को अवधिमा १ लाख ५३ हजारभन्दा बढी विद्यार्थीहरूले नियम पालना नगरेको पहिचान भए पनि वार्षिक केवल २ हजार वटा घटनाको मात्र अनुसन्धान गर्ने बजेट अध्यागमन विभागसँग थियो।

यसै गरी क्यानाडाको सङ्घीय सरकारले गत २०२६ मार्च २६ मा अध्यागमन ऐनमा व्यापक सुधार गर्दै सरकारलाई आवेदनहरू सामूहिक रूपमा रद्द गर्ने र अध्यागमन कागजातहरू खारेज गर्ने अधिकार दिएको थियो। सोही सुधारमार्फत क्यानाडा प्रवेश गरेको एक वर्षपछि शरणार्थी दाबी गर्न नपाइने र क्यानाडा-अमेरिका सीमाबाट अवैध रूपमा प्रवेश गर्नेहरूलाई शरणार्थी आवेदन दिन रोक लगाउने व्यवस्था पनि लागू गरिएको थियो।

यसअघि गत २०२६ जुनमा आइआरसिसीले भाषा परीक्षाको नतिजा जाँच गर्दा परीक्षार्थीको फोटो भिडाउनेलगायतका अतिरिक्त परीक्षण प्रक्रिया सुरु गरेको थियो। सरकारले अपनाएका यी कडा नीतिहरूका कारण क्यानाडा आउने अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्यामा ठूलो गिरावट आएको छ। सरकारी तथ्याङ्कअनुसार २०२६ को जनवरीदेखि मेसम्मको अवधिमा क्यानाडा भित्रिने विद्यार्थीको सङ्ख्या सन् २०२४ को सोही अवधिको तुलनामा ७० प्रतिशत अर्थात् २ लाख २५ हजार ३३५ ले घटेको छ।

तपाईंको प्रतिक्रिया