• बुधबार, २६ कार्तिक, २०८३
  • Wednesday, 11 November, 2026
  • X

क्यानाडाका नेपाली विद्यार्थीहरुलाई हेल्पिङ ह्याण्डको सहयोग निरन्तर

नेपालTouch
शुक्रबार श्रावण ९, २०७७ | Friday July 24,2020
रक्तदानपछिको सामुहिक तस्विर। फोटो सौजन्य: हेल्पिंग ह्याण्ड विदाउट बोर्डर

टोरन्टो। कोरोना भाइरसका कारण गरिएको लकडाउनले अफ्ठ्यारोमा परेका क्यानाडामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई हेल्पिङ ह्याण्ड विदाउट वोर्डरसले निरन्तर सहयोग गरिरहेको जनाएको छ। 

संस्थाले विद्यार्थीहरुलाई खाद्यान्न, वासस्थान व्यवस्थापन, ट्याक्स फाईलिङ, तथा मानसिक स्वास्थ्य परामर्श सेवा समेत उपलब्ध गराएको थियो। “हालसम्म हामीले करिव ९० जना नेपाली विद्यार्थीहरुलाई बिभिन्न किसिमले सहयोग गरिसकेका छौं”, संस्थाका अध्यक्ष अञ्जनी राज भट्टराईले नेपाल टचसंग भने, “अवस्था अहिले पनि पूर्ण रुपमा सहज नभइसकेकाले आवश्यक परेकाहरुलाई निरन्तर सहयोग जारी राखेका छौं।” 

सरकारले लकडाउन शुरु गरेपछि विश्व विद्यालयहरुले विद्यार्थी बस्ने निवासहरु बन्द गरेका थिए। बाध्यात्मक अवस्थामा विद्यार्थीहरुले ती निवासहरु छोड्नु परेकाले उनिहरु समस्यामा परेका थिए। त्यही बेला हेल्पिंग ह्याण्ड विदाउट बोर्डरले विद्यार्थीहरुलाई सहयोग पुर्याउन शुरु गरेको थियो। 

त्यसपछि संस्थाले समस्यामा परेकालाई सहयोगका लागि सार्वजनिक आह्वान गरेर करिव ५ हजार २ सय भन्दा धेरै डलर संकलन गरिसकेको अध्यक्ष भट्टराईले बताए। सहयोग जारी नै रहेकाले कति खर्च भयो भन्ने तथ्याङ हाल उपलब्ध हुन नसके पनि विध्यार्थीलाई आवस्यकताअनुसार नगद र जिन्सी सहयोग गरिएको थियो। संस्थाले अलग्गै सहयोग गरिरहेको एनआरएन क्यानाडामार्फत पनि विद्यार्थीहरुलाई सहयोग गरेको जनाएको छ। 

क्यानाडामा नेपाली विद्यार्थीहरुको आधिकारिक तथ्यांक नभए पनि उनिहरुको ठूलो संख्या ग्रेटर टोरन्टो क्षेत्रमा रहेको बताइन्छ। संस्थाले भने त्यस बाहेक शुसे मेरी, सास्काचेवन, लण्डनलगायतका बिभिन्न शहरमा रहेका विद्यार्थीहरुलाई पनि सहयोग गरेको थियो।

गैर नाफामुलक उद्देश्यका साथ २०१९ मा स्थापना भएको संस्थाले रक्त संकलनको काम पनि गर्दै आएको छ। “एकपटक हामीले रक्त संकलनको कार्यक्रम सम्पन्न गरिसकेका छौं, अर्को पटकको कार्यक्रम कोभिड-१९ का कारण स्थगित गर्नु परेको छ”, अध्यक्ष भट्टराईले भने।  

संस्थाकासंग उपलब्ध साधन स्रोतको सिमितता भए पनि कोरोना भाइरस प्रभावित केही परिवारलाई संस्थाले नेपालमा पनि सहयोग पठाएको छ। नेपालमा एकता समुह काठमाण्डौ मार्फत बृद्धबृद्धालाई धार्मिक यात्रा र एउटा साहित्यिक कार्यक्रमका लागि पनि सहयोग उपलब्ध गराएको संस्थाले जनाएको छ।  

तपाईंको प्रतिक्रिया