• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

टीएनएससीले टोरन्टोमा फुटबल प्रतियोगिता आयोजना गर्दै

नेपालTouch
बिहीबार असोज ८, २०८३ | Thursday September 24,2026

टोरन्टो। टोरन्टो नेप्लिज स्पोर्ट्स क्लब (टीएनएससी) को आयोजनामा यहि सेप्टेम्बर २६ शनिबार स्कारबोरोमा दोस्रो ‘डा. कुञ्जरमणि शर्मा मेमोरियल कप’ तथा ‘टीएनएससी भेट्रान्स कप २०२६’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। नेपालका पूर्व मानार्थ महावाणिज्यदूत तथा लामो समयसम्म क्यानाडास्थित नेपाली समुदायका अगुवा स्व. डा. कुञ्जरमणि शर्माको स्मृति र सम्मानमा यो प्रतियोगिता आयोजना गरिएको जनाउँदै आयोजक संस्थाले प्रतियोगिताको तयारी पुरा भइसकेको पनि जनाएको छ।

"Together we celebrate Friendship, Fitness and Community" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस एक दिवसीय प्रतियोगितामा कुल १५ टोलीहरूले चार फरक विधामा प्रतिस्पर्धा गर्दैछन्। युवा पिँढी अनुभवी र वयस्क खेलाडीहरूसँग जोड्दै दुई पुस्ताबीच खेल भावना र एकता प्रवर्द्धन गर्ने उद्देश्यले क्लबले यो प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष कर्ण बटालाले जनाए।

एकदिने यस प्रतियोगिताअन्तर्गत भेट्रान्स कपतर्फ ६ वटा टोलीले प्रतिष्पर्धा गर्नेछन्। यस विधामा विजेता टोलीका लागि नगद ५ हजार १ सय क्यानेडियन डलर र उप-विजेताका लागि २ हजार ५ सय डलरको पुरस्कार राखिएको छ।

त्यसैगरी, डा. कुञ्जरमणि शर्मा मेमोरियल कप (युवा विधा) तर्फ १० वर्षमुनि (यु-१०) का ३ टोली, १२ वर्षमुनि (यु-१२) का २ टोली र १४ वर्षमुनि (यु-१४) का ४ टोली मैदानमा उत्रिँदैछन्। युवा विधामा उत्कृष्ट प्रदर्शन गर्ने र खेल भावना प्रदर्शन गर्ने खेलाडी तथा टोलीहरूलाई ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताले युवाहरूको खेलकुद विकास, स्वस्थ जीवनशैली र डायस्पोराबीचको भाइचारालाई मजबुत बनाउने विश्वास लिइएको छ। टीएनएससीका अध्यक्ष बटालाले नेपाली तथा भुटानी समुदायका परिवार र खेल क्लबहरूलाई उपस्थित भई खेलाडीहरूको हौसला बढाउन र खेलकुदको यो विशेष उत्सवमा सहभागी हुन हार्दिक आह्वान पनि गरेका छन्।

तपाईंको प्रतिक्रिया