• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

'क्यानाडा सुपर ६०' को उपाधि जित्दा इन्दु वर्माको निर्णायक प्रदर्शन

नेपालTouch
आइतबार असोज १८, २०८३ | Sunday October 04,2026

अन्टारियो। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले क्यानाडाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘क्यानाडा सुपर ६०’ को महिला उपाधि जित्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेकी छन्।

इन्दु आबद्ध टोरन्टो सिक्सर्स वुमनले आइतबार भ्यान्कुभर वारियर्स वुमनलाई ६ विकेटले हराउँदै लगातार दोस्रोपटक प्रतियोगिताको महिला उपाधि जितेको हो। भ्यान्कुभरले दिएको ८५ रनको लक्ष्य टोरन्टोले ९.३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो।

टोरन्टोले ३९ रनमै चार विकेट गुमाएपछि क्रिजमा पुगेकी इन्दुले एलाह म्याककनसँग महत्वपूर्ण साझेदारी गरिन्। उनले १३ बलमा अविजित १८ रन बनाइन्। उनको इनिङ्समा एक छक्का थियो। म्याककन २० बलमा ३६ रन बनाएर अविजित रहिन्।

इन्दु र म्याककनको अविजित साझेदारीले टोरन्टोलाई लक्ष्यसम्म पुर्‍याएको थियो। टोलीलाई उपाधि दिलाउने विजयी रन पनि इन्दुकै ब्याटबाट आएको थियो।

यसअघि टोरन्टोले पहिलोपटक भ्यान्कुभर वारियर्ससँग पराजय व्यहोरे पनि त्यसपछि लगातार खेल जित्दै उपाधि रक्षा गरेको हो।

प्रतियोगिताको लिग चरणमा टोरन्टोले भ्यान्कुभर एन्कर्सलाई २१ रनले हराउँदा इन्दुले दुई ओभरमा चार रन खर्चेर दुई विकेट लिएकी थिइन्।

त्यसपछि एन्कर्सविरुद्धकै एलिमिनेटर खेलमा उनले दुई ओभरमा १३ रन खर्चेर एक विकेट लिइन्।

फाइनलमा पनि उनले भ्यान्कुभर वारियर्सकी दक्षिण अफ्रिकी खेलाडी मरिजान कापको विकेट लिइन्। फाइनलमा दुई ओभर बलिङ गरेकी इन्दुले २८ रन खर्चिइन्।

प्रतियोगितामा इन्दुले चार खेलबाट कुल चार विकेट लिइन्। बलिङसँगै फाइनलमा टोलीलाई जिततर्फ अघि बढाउने उनको अविजित इनिङ्सले टोरन्टोको उपाधि यात्रामा महत्वपूर्ण भूमिका खेलेको छ।

भ्यान्कुभर वारियर्सले फाइनलमा पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा नौ विकेट गुमाएर ८४ रन बनाएको थियो।

सोफी रिडले २८ बलमा ३५ रन बनाउँदा मरिजान कापले नौ बलमा १६ रन जोडिन्। टोरन्टोका सोफिया स्मेल र अमरपाल कौरले दुई-दुई विकेट लिए।

क्यानाडा सुपर ६० को दोस्रो संस्करण सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म भ्यान्कुभरस्थित बीसी प्लेसमा आयोजना भएको थियो।

यस संस्करणमा महिला टोलीतर्फ टोरन्टो सिक्सर्स, भ्यान्कुभर वारियर्स र भ्यान्कुभर एन्कर्स सहभागी थिए।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगितामा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तानका रूपमा इन्दुको सहभागिता र प्रदर्शनले नेपाली महिला क्रिकेटका खेलाडीका लागि विदेशी फ्रेन्चाइज प्रतियोगितामा अवसरको सम्भावनासमेत देखाएको छ।

तपाईंको प्रतिक्रिया