• सोमबार, ३ कार्तिक, २०८३
  • Monday, 19 October, 2026
  • X

अल्बर्टाको सैनिक तालिम केन्द्रमा आगलागी, चार सैनिकको मृत्यु, ३९ घाइते

नेपालTouch
सोमबार कार्तिक ३, २०८३ | Monday October 19,2026

अल्बर्टा। क्यानाडाको अल्बर्टा प्रान्तस्थित सैनिक तालिम केन्द्रमा भएको तीव्र गतिमा फैलिएको आगलागीमा चार सैनिकको मृत्यु भएको छ। ३९ जना घाइते भएका छन्। घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

अक्टोबर १७ शनिबार अपराह्न करिब ४ बजे वेनराइटस्थित क्यानाडाली सेनाको तालिम केन्द्रमा आगलागी भएको थियो। सैनिकहरू वास्तविक गोलीगट्ठा प्रयोग गरेर युद्ध अभ्यास गरिरहेका बेला घाँसे मैदानमा आगो सल्किएको र तीव्र हावाका कारण आगो छिट्टै फैलिएको प्रारम्भिक जानकारी छ।

क्यानाडाली सेनाले आइतबार मृतक चार सैनिकको पहिचान सार्वजनिक गरेको छ। मृत्यु हुनेमा सार्जेन्ट मोर्गन वङ, प्राइभेट शन फेरेल, प्राइभेट एडन गोल्डिङ र प्राइभेट हेडन लाइकेमार्क छन्। उनीहरू सबै एडमन्टनस्थित तेस्रो बटालियन, प्रिन्सेस प्याट्रिसियाज क्यानेडियन लाइट इन्फ्यान्ट्रीमा कार्यरत थिए । उनीहरूका परिवारलाई घटनाबारे जानकारी गराइसकिएको सेनाले जनाएको छ।

सेनाका अनुसार उक्त अभ्यासमा सहभागी सैनिकहरूलाई विश्वका विभिन्न क्षेत्रमा परिचालन हुन तयार पार्ने र लाट्भियामा तैनाथ क्यानेडाली सैनिकलाई सहयोग गर्ने उद्देश्यले तालिम दिइँदै थियो। अभ्यासका क्रममा आगो सल्किएपछि तीव्र हावाले आगोको दिशा परिवर्तन गराएको र तालिम केन्द्रको प्रशासनिक क्षेत्रतर्फ फैलाएको अधिकारीहरूले बताएका छन्।

क्यानाडाली सेनाका मेजर जनरल वेड रटल्यान्डका अनुसार आगो असामान्य रूपमा तीव्र गतिमा फैलिएको थियो। उनका अनुसार हावाको दिशा परिवर्तन भएपछि आगो करिब एक किलोमिटर दूरी ३६ सेकेन्डमै फैलिएको थियो।

घटनापछि घाइतेहरूलाई उपचारका लागि एडमन्टन, क्यालगरी, रेड डियरलगायतका सहरका अस्पतालमा पुर्‍याइएको छ। उद्धार तथा उपचार कार्यमा सैनिक र नागरिक आपत्कालीन टोली परिचालित भएका थिए। घाइतेको उपचारका लागि अल्बर्टाका विभिन्न अस्पतालमा सामूहिक दुर्घटनासम्बन्धी आपत्कालीन व्यवस्था पनि सक्रिय पारिएको थियो।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले घटनालाई शान्तिकालमा क्यानाडाली सेनाले भोगेका गम्भीर दुःखद घटनामध्ये एक बताएका छन्। उनले मृतक सैनिकका परिवारप्रति समवेदना व्यक्त गर्दै संघीय सरकारी भवनमा रहेका राष्ट्रिय झन्डा आधा झुकाउने आदेश दिएका छन्।

रक्षामन्त्री डेभिड म्याकगिन्टीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित सैनिक, उनीहरूका परिवार र समुदायलाई आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन्। अल्बर्टाकी प्रिमियर ड्यानियल स्मिथका अनुसार घाइतेमध्ये धेरैलाई विशेष उपचार आवश्यक पर्नेछ र उनीहरूको उपचारमा हप्ताौँदेखि महिनौँसम्म लाग्न सक्छ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। अधिकारीहरूले तीव्र हावालाई आगो फैलिनुको प्रमुख कारणका रूपमा उल्लेख गरे पनि घटनाको सम्पूर्ण परिस्थिति अनुसन्धानबाट स्पष्ट हुने बताएका छन्।

वेनराइटस्थित सैनिक तालिम केन्द्र एडमन्टनबाट करिब २१० किलोमिटर पूर्वमा पर्छ। यो क्यानाडाली सेनाको प्रमुख तालिम केन्द्रमध्ये एक हो, जहाँ सैनिकलाई युद्ध अभ्यास र विभिन्न परिचालनका लागि तयार पारिन्छ।

तपाईंको प्रतिक्रिया