पश्चिमी तटको तेल पाइपलाइनलाई क्यानाडाले घोषणा गर्यो 'राष्ट्रिय हितको परियोजना'
नेपालTouch
अन्टारियो। प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको क्यानाडा सरकारले अल्बर्टाबाट ब्रिटिस कोलम्बियाको पश्चिमी तटसम्म निर्माण गर्ने प्रस्तावित तेल पाइपलाइनलाई ‘राष्ट्रिय हितको परियोजना’ घोषणा गरेको छ।
प्रधानमन्त्री कार्नी र अल्बर्टाकी प्रिमियर ड्यानियल स्मिथले बिहीबार अल्बर्टाको फोर्ट म्याकमरेमा संयुक्त रूपमा यसको घोषणा गरेका हुन्। यो परियोजना ‘बिल्डिङ क्यानाडा एक्ट’ अन्तर्गत राष्ट्रिय हितको परियोजनाका रूपमा घोषणा हुने पहिलो परियोजना हो।
‘प्यासिफिक लिंक’ नाम दिइएको प्रस्तावित पाइपलाइन करिब १ हजार २५० किलोमिटर लामो हुनेछ। यसबाट अल्बर्टाको ब्रुडरहाइमबाट दैनिक १० लाख ब्यारेलभन्दा बढी कच्चा तेल ब्रिटिस कोलम्बियाको डेल्टानजिकै रहेको बन्दरगाहसम्म पुर्याएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने योजना छ।
सरकारका अनुसार परियोजनाले क्यानाडाको कच्चा तेलका लागि अमेरिकी बजारबाहेक अन्य अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्नेछ। विशेषगरी एसियाली बजारमा क्यानाडाली तेल निर्यात बढाउने लक्ष्य राखिएको छ। प्रधानमन्त्री कार्नीले नयाँ पाइपलाइनले क्यानाडालाई विश्वसनीय ऊर्जा आपूर्तिकर्ताका रूपमा स्थापित गर्न सहयोग गर्ने बताएका छन्।
परियोजनाको अनुमानित लागत ३५.२ अर्बदेखि ४३.७ अर्ब डलरसम्म रहेको छ। परियोजनामा संघीय सरकारको स्वामित्वमा रहेको ट्रान्स माउन्टेन कर्पोरेसन र अल्बर्टा सरकारको सहभागिता रहनेछ। निजी क्षेत्रबाट पेम्बिना पाइपलाइन कर्पोरेसनले परियोजना विकासमा आफ्नो अनुभव र विशेषज्ञता उपलब्ध गराउने भएको छ।
परियोजनामा प्रभावित आदिवासी समुदायलाई कम्तीमा १० प्रतिशत स्वामित्वको अवसर दिने योजना पनि सार्वजनिक गरिएको छ। त्यसका लागि संघीय र प्रान्तीय सरकारका ऋण कार्यक्रममार्फत वित्तीय सहयोग उपलब्ध गराइने बताइएको छ।
संघीय सरकारको प्रमुख परियोजना कार्यालयले सन् २०२७ को सेप्टेम्बर १ सम्म परियोजनाका आवश्यक सर्तहरू टुंग्याउने लक्ष्य राखेको छ। त्यसपछि नियामकीय प्रक्रिया अघि बढ्नेछ।
प्रधानमन्त्री कार्नीले पाइपलाइनमा आवश्यक तेल उपलब्ध गराउन अल्बर्टाका तेल उत्पादकहरू इच्छुक हुने विश्वास व्यक्त गरेका छन्। उनले पाइपलाइनबाट एसियाली बजारमा थप पहुँच प्राप्त हुने भएकाले उत्पादकहरूका लागि यो व्यावसायिक अवसर बन्न सक्ने बताएका छन्। यद्यपि, पाइपलाइनमा लगानी गर्ने वा उत्पादन विस्तार गर्ने निर्णय सम्बन्धित कम्पनीहरूले नै गर्ने उनको भनाइ छ।
परियोजनाले संघीय सरकार र अल्बर्टाबीच ऊर्जा तथा वातावरणसम्बन्धी विषयमा लामो समयदेखि रहँदै आएको मतभेदलाई समेत नयाँ चरणमा पुर्याएको छ। गत वर्ष कार्नी र स्मिथबीच पश्चिमी तटतर्फ तेल पाइपलाइन निर्माणका लागि सहकार्य गर्ने समझदारी भएको थियो। त्यसमा आदिवासी समुदायको सहस्वामित्व र आर्थिक लाभ सुनिश्चित गर्ने विषयसमेत समेटिएको थियो।
तर पाइपलाइन परियोजनालाई लिएर केही आदिवासी समुदाय र वातावरणसम्बन्धी समूहले आपत्ति जनाउँदै आएका छन्। परियोजनाको राष्ट्रिय हितको घोषणा अघि प्रभावित आदिवासी समुदायसँग गरिएको परामर्शको समय छोटो भएको र पर्याप्त जानकारी उपलब्ध नगराइएको भन्दै केही समुदायले प्रश्न उठाएका छन्।
संघीय सरकारले भने परियोजनासम्बन्धी वातावरणीय सुरक्षा, आदिवासी साझेदारी र अन्य आवश्यक प्रक्रिया अघि बढाइने जनाएको 'नेशनल पोस्ट' ले उल्लेख गरेको छ।

सम्बन्धित खबर












.png)














तपाईंको प्रतिक्रिया