क्यानेडियन मदिरा, दुग्धजन्य पदार्थ र मोटरसाइकलमा अमेरिकी प्रतिबन्ध
नेपालTouch
अन्टारियो। अमेरिका र क्यानाडाबीच जारी व्यापार तनाव थप चर्किँदै जाँदा अमेरिकाले मंगलबारदेखि क्यानाडामा उत्पादित मदिरा, केही दुग्धजन्य पदार्थ र मोटरसाइकलको आयातमा पूर्ण प्रतिबन्ध लागू गर्दैछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर ८ मा जारी गरेका कार्यकारी आदेशअनुसार सेप्टेम्बर २९ को मध्यरातपछि प्रतिबन्ध लागू हुनेछ। यो कदम क्यानाडाले अमेरिकी वस्तुमा लगाएको प्रतिशुल्कको जवाफस्वरूप चालिएको अमेरिकी पक्षको दाबी छ।
प्रतिबन्धअन्तर्गत क्यानाडाबाट अमेरिका निर्यात हुने राई, ह्विस्की, वाइन, बियर, भर्मुथ, टकीला, भोड्का र रमलगायत विभिन्न प्रकारका मदिरा पर्नेछन्। प्याकेज गरिएको र खुला दुवै प्रकारका केही उत्पादन प्रतिबन्धको सूचीमा छन्।
क्यानाडाको व्यापार आयुक्त सेवाका अनुसार सन् २०२३ मा क्यानाडाले १ अर्ब ३६ करोड क्यानाडाली डलर बराबरको मदिराजन्य वस्तु निर्यात गरेको थियो। त्यसको करिब ९० प्रतिशत अमेरिका गएको थियो। निर्यातमध्ये करिब दुईतिहाइ हिस्सा स्पिरिट्स अर्थात् ह्विस्की, जिन र भोड्काजस्ता कडा मदिराको थियो।
क्यानाडाको वाइन उद्योगका लागि पनि अमेरिकी बजार महत्वपूर्ण छ। वाइन ग्रोअर्स क्यानाडाका अनुसार सन् २०२५ मा करिब ८३ लाख डलर बराबरको वाइन अमेरिका निर्यात भएको थियो। त्यसको ५७ प्रतिशत हिस्सा आइस वाइनको थियो।
'बियर क्यानाडा' का अनुसार गत वर्ष करिब २ करोड ८० लाख डलर बराबरको बियर अमेरिका निर्यात भएको थियो, जुन क्यानाडामा उत्पादित कुल बियरको करिब १० प्रतिशत हो। अमेरिकालाई क्यानाडाली बियर उद्योगले आफ्नो प्रमुख निर्यात बजारका रूपमा लिँदै आएको छ।
दुग्धजन्य पदार्थतर्फ ह्वे अर्थात् चीज उत्पादन गर्दा बाँकी रहने दुग्ध उपउत्पादन तथा ह्वे प्रोटिनलगायतका वस्तु प्रतिबन्धमा पर्नेछन्। अमेरिकाले सार्वजनिक गरेको सूचीमा उखुको गुड र इनभर्ट मोलासेसका केही प्रकारसमेत समावेश छन्।
स्टाटिस्टिक्स क्यानाडाका अनुसार सन् २०२४ मा क्यानाडाले अमेरिकातर्फ ७० करोड डलरभन्दा केही बढी मूल्यको दुग्धजन्य पदार्थ निर्यात गरेको थियो। यद्यपि त्यसको कति हिस्सा नयाँ पूर्ण प्रतिबन्धबाट प्रत्यक्ष प्रभावित हुन्छ भन्ने स्पष्ट छैन।
प्रतिबन्धको अर्को सूचीमा मोटरसाइकल पनि परेको छ। ८०० सीसीभन्दा बढी क्षमताको सिलिन्डर भएको आन्तरिक दहन इन्जिनयुक्त मोटरसाइकल तथा केही मोपेड र अन्य मोटरयुक्त दुईपांग्रे सवारी साधनलाई प्रतिबन्धित वस्तुको सूचीमा राखिएको छ।
अमेरिकाले पछिल्लो कदमलाई क्यानाडाको प्रतिशुल्क र अमेरिकी वस्तुमा लगाइएका प्रतिबन्धको जवाफका रूपमा व्याख्या गरेको छ। क्यानाडाले भने यसअघि अमेरिकाले लगाएको ५० प्रतिशतसम्मको शुल्कको प्रतिक्रियास्वरूप अमेरिकी वस्तुमा प्रतिशुल्क लगाएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार व्यापार प्रतिबन्ध लागू हुनुअघि क्यानाडासँग सम्झौता गरेर यसलाई रोक्न सकिने सम्भावनाबारे सोध्दा क्यानाडामाथि आरोप लगाउँदै सम्झौताको सम्भावनाप्रति तत्काल सकारात्मक संकेत दिएका थिएनन्। उनले क्यानाडाले अमेरिकी व्यापारबाट ठूलो लाभ लिइरहेको दाबी गरेका थिए।
क्यानाडाली व्यवसायीहरूका लागि भने प्रतिबन्धले विशेषगरी अमेरिकी बजारमा निर्भर उद्योगलाई असर पार्ने चिन्ता छ। क्यानाडाली स्पिरिट उद्योगले उत्पादन गर्ने करिब आधा हिस्सा अमेरिकी बजारमा जाने र गत वर्ष निर्यात गरिएको स्पिरिटमध्ये ९३ प्रतिशत अमेरिका गएको उद्योगसम्बन्धी तथ्यांक छ।
क्यानाडाको वाइन उद्योगले पनि अमेरिकी बजार गुमाउँदा दीर्घकालीन असर पर्न सक्ने जनाएको छ। अमेरिकी बजारमा उपभोक्ता, आयातकर्ता, वितरक र खुद्रा विक्रेतासँगको सम्बन्ध निर्माण गर्न वर्षौं लाग्ने भएकाले अस्थायी रूपमा बजार बन्द भए पनि त्यसको प्रभाव लामो समयसम्म रहन सक्ने उद्योगको भनाइ छ।
दुग्ध क्षेत्रमा पनि क्यानाडाली किसान र प्रशोधन उद्योग प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। क्यानाडाको दुग्ध उद्योगले केही निर्यातमाथि लक्षित प्रतिबन्धप्रति निराशा व्यक्त गर्दै शुल्क र आयात प्रतिबन्धले दुवै देशका आपूर्ति शृंखलामा असर पार्न सक्ने जनाएको छ।
क्यानाडा–अमेरिका व्यापार वार्ता भने पछिल्लो समय रोकिएको अवस्थामा छ। प्रधानमन्त्री मार्क कार्नीले अगस्टमा प्रस्तावित सम्झौता क्यानाडाका लागि उपयुक्त नभएको भन्दै वार्ता अघि नबढाइएको बताएका थिए। त्यसपछि दुवै देशबीच प्रतिशुल्क र नयाँ व्यापार प्रतिबन्धको श्रृंखला बढेको हो।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले हालको अवस्थामा राष्ट्रपति ट्रम्प सन्तुष्ट रहेको र वार्ता पुनः सुरु गर्न तत्काल कुनै हतार नभएको बताएका छन्। क्यानाडाका व्यापारमन्त्री डोमिनिक लेब्लाङको कार्यालयले भने अमेरिकी नयाँ व्यापार उपाय लागू हुन लागेको जानकारीलाई ध्यानमा राखेको जनाएको छ।
क्यानाडा सरकारले अमेरिकी कदमबाट प्रभावित हुने श्रमिक, किसान, परिवार र व्यवसायलाई संरक्षण गर्नु आफ्नो प्राथमिकता रहेको बताउँदै घरेलु अर्थतन्त्र बलियो बनाउने र अन्य अन्तर्राष्ट्रिय बजारसँग व्यापारिक सम्बन्ध विस्तार गर्ने दिशामा काम गरिरहेको जनाएको छ।
अमेरिका र क्यानाडाबीचको व्यापारमा पछिल्लो कदमले दुई देशबीचको लामो समयदेखिको व्यापारिक तनावलाई थप जटिल बनाएको छ। प्रतिबन्ध कति समय कायम रहने र आगामी दिनमा दुवै देशबीच वार्ता पुनः सुरु हुन्छ कि हुँदैन भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन।

सम्बन्धित खबर












.png)














तपाईंको प्रतिक्रिया