• बिहीबार, २२ असोज, २०८३
  • Thursday, 08 October, 2026
  • X

टोरन्टोका दुई तिहाइ बासिन्दाको मान्यता: जनप्रतिनिधि सर्वसाधारणका मुद्दाप्रति बेखबर

नेपालTouch
बुधबार असोज २१, २०८३ | Wednesday October 07,2026
-Agency

अन्टारियो । टोरन्टोका दुई तिहाइ बासिन्दाले आफ्ना नगरप्रमुख तथा नगर काउन्सिल सर्वसाधारणको आवश्यकता र चाहनाप्रति बेखबर रहेको ठानेको एक नयाँ सर्वेक्षणले देखाएको छ। 'सिटीन्युज'का लागि 'क्यानाडा पल्स इन्साइट्स'ले गरेको सर्वेक्षण अनुसार ६४ प्रतिशत सर्वसाधारणले स्थानीय नेतृत्व र जनताका आवश्यकताबीच दूरी रहेको महसुस गरेका हुन्।

यद्यपि, सोही सर्वेक्षणमा ५६ प्रतिशत उत्तरदाताले नगरप्रमुख ओलिभिया चउको कार्यशैलीलाई सकारात्मक भनेका छन्। त्यस्तै ६४ प्रतिशतले आफ्ना स्थानीय काउन्सिलर र ५५ प्रतिशतले समग्र नगर काउन्सिलको कार्यसम्पादनप्रति सन्तुष्टि जनाएका छन्। आगामी स्थानीय निर्वाचन नजिकिँदै गर्दा नगरप्रमुख चउ र उहाँका मुख्य प्रतिस्पर्धी पूर्व काउन्सिलर ब्राड ब्राडफोर्डबीच प्रतिस्पर्धा तीव्र बनेको छ।

नगर कुन दिशामा गइरहेको छ भन्ने प्रश्नमा ५४ प्रतिशत उत्तरदाताले सहर गलत बाटोमा अघि बढिरहेको बताएका छन् भने ४६ प्रतिशतले सही दिशामा रहेको प्रतिक्रिया दिएका छन्। चउका समर्थकहरूमध्ये ७१ प्रतिशतले सहर सही दिशामा रहेको विश्वास व्यक्त गरेका छन् भने ब्राडफोर्डका समर्थकहरूमा यो तथ्याङ्क मात्र २१ प्रतिशत छ।

तथ्याङ्कशास्त्री जोन राइटका अनुसार नगर नेतृत्वप्रतिको यो मध्यम प्रतिक्रियाले आगामी निर्वाचनमा मतदाताको उपस्थिति बढाउन सक्छ। मतदातालाई मतदान केन्द्रसम्म ल्याउने मुख्य कारण महँगी र जीवनयापनको लागत बनेको छ, जसको प्रत्यक्ष असर वर्तमान नेतृत्वमाथि पर्नेछ।

सर्वेक्षण अनुसार ४३ प्रतिशत मतदाताका लागि महँगी र जीवनयापनको बढ्दो खर्च मुख्य चुनावी मुद्दा बनेको छ। चउका ४५ प्रतिशत र ब्राडफोर्डका ३९ प्रतिशत समर्थकसहित निर्णय लिन बाँकी रहेका ३८ प्रतिशत मतदाताले यसैलाई प्रमुख चासोका रूपमा लिएका छन्। यसबाहेक समग्र मतदाताका लागि अपराध तथा सार्वजनिक सुरक्षा (२९ प्रतिशत) र सवारी जाम तथा सडक पूर्वाधार (२५ प्रतिशत) दोस्रो र तेस्रो ठूलो मुद्दाका रूपमा अगाडि आएका छन्।

दुवै मुख्य उम्मेदवारका समर्थकहरूका प्राथमिकता फरक-फरक देखिएका छन्। चउका समर्थकहरूले आवासको सुलभता तथा स्वामित्व (३० प्रतिशत) र घरबारविहीनता तथा आश्रयस्थलको अभाव (२५ प्रतिशत) लाई महत्त्व दिएका छन्। अर्कोतर्फ, ब्राडफोर्डका समर्थकहरूले अपराध तथा सुरक्षा (३७ प्रतिशत), सवारी जाम (३६ प्रतिशत) र नगरपालिकाको कर तथा बजेट खर्च (३० प्रतिशत) लाई प्राथमिकतामा राखेका छन्।

भूमोगोलिक आधारमा पनि मतदाताका प्राथमिकता फरक पाइएका छन्। सहरको मध्यभाग (सिटी कोर) मा बसोबास गर्नेहरूले आवास र भाडाका मुद्दालाई बढी प्राथमिकता दिएका छन् भने स्कारबोरो र नर्थ योर्क जस्ता बाहिरी क्षेत्रका बासिन्दाका लागि प्रहरी प्रशासन र सुरक्षा प्रमुख चासो बनेको छ।

मुख्य प्रतिस्पर्धीमध्ये एक मानिएका क्रिस अलेक्जान्डरले उम्मेदवारी फिर्ता लिएपछि चुनावी प्रतिस्पर्धा अब मुख्य रूपमा चउ र ब्राडफोर्डबीच सीमित भएको छ। यो सर्वेक्षण सेप्टेम्बर १४ देखि २४ सम्म ५१० जना टोरन्टोवासीमाझ गरिएको थियो, जसको त्रुटि सीमा (मार्जिन अफ एरर) ४.३ प्रतिशत बिन्दु रहेको छ।

तपाईंको प्रतिक्रिया