• शुक्रबार, २३ असोज, २०८३
  • Friday, 09 October, 2026
  • X

महँगिँदो आवास खर्चसँगै टोरन्टो क्षेत्रमा भाडा तिर्न नसक्ने बढे

नेपालTouch
बुधबार असोज २१, २०८३ | Wednesday October 07,2026

अन्टारियो। क्यानाडाको ग्रेटर टोरन्टो क्षेत्र (जिटिए) मा घरभाडा तिर्न नसक्ने वा भाडा तिर्न ढिला गर्ने परिवारको संख्या बढ्दै गएको छ। आम्दानीको तुलनामा आवास खर्च बढ्दै गएपछि भाडा सहायता माग्नेको संख्या पछिल्लो समय उच्च तहमा पुगेको सम्बन्धित संस्थाहरूले बताएका छन्।

अन्टारियोको घरधनी तथा भाडावाल बोर्डको तथ्यांकअनुसार भाडा नतिरेको आधारमा भाडावाललाई हटाउन माग गर्दै दायर हुने निवेदन लगातार बढिरहेका छन्। आर्थिक वर्ष २०२२–२३ मा यस्ता निवेदन ३७ हजार ६९० रहेकामा २०२३–२४ मा बढेर ४१ हजार ३८६ पुगेका थिए। २०२४–२५ मा यो संख्या ४५ हजार ४३५ पुगेको छ। तीन वर्षमा यस्तो निवेदन करिब २० प्रतिशतले बढेको हो।

भाडा नतिरेको आधारमा दायर हुने यी निवेदन बोर्डमा प्राप्त हुने सबै निवेदनको करिब आधा छन्।

टोरन्टोमा भाडा तिर्न नसकेका परिवारलाई सहयोग गर्दै आएको टोरन्टो रेन्ट बैंक सञ्चालन गर्ने नेबरहुड इन्फर्मेसन पोस्टकी कार्यकारी निर्देशक ग्लाडिस वङका अनुसार आर्थिक सहायता माग्नेको संख्या उल्लेख्य रूपमा बढेको छ। संस्थाले वितरण गरेको अनुदान सन् २०२२ मा ६४ लाख क्यानाडेली डलर रहेकामा गत वर्ष बढेर ८८ लाख डलर पुगेको उनले बताइन्।

वङका अनुसार विगतमा तुलनात्मक रूपमा राम्रो आम्दानी भएका परिवारसमेत अहिले सबै खर्च धान्न नसक्ने अवस्थामा पुगेका छन्। बालबच्चा भएका परिवारमा यस्तो समस्या बढी देखिएको उनले बताइन्। पछिल्लो समय उच्च घरभाडा धान्न नसकेका विद्यार्थीसमेत सहायता खोज्दै आउन थालेका छन्।

उनका अनुसार विगतमा रेन्ट बैंकमा सहायता माग्न आउनेको भाडा बक्यौता केही हजार डलरसम्म हुने गरेको थियो। अहिले १० हजार वा १५ हजार डलरभन्दा बढी बक्यौता लिएर आउनेहरू पनि असामान्य नरहेको उनले बताइन्।

पिल क्षेत्रको अवस्था पनि गम्भीर देखिएको छ। त्यहाँ आवाससम्बन्धी सहायता माग्नेको संख्या सन् २०२२ को तुलनामा ७८ प्रतिशतले बढेर गत वर्ष करिब २१ हजार पुगेको थियो। अनुदानमा आधारित आवासको प्रतीक्षा सूचीमा रहेका परिवारको संख्या पनि ३७ हजार ६० पुगेको छ। यो सन् २०२२ को तुलनामा २९ प्रतिशत बढी हो।

पिल क्षेत्रका आवास सेवाकी वरिष्ठ निर्देशक एलिजाबेथ स्टोर्टीका अनुसार गत वर्ष प्रतीक्षा सूचीमा रहेका ३७ हजारभन्दा बढी परिवारमध्ये २४० परिवारलाई मात्र आवास उपलब्ध गराउन सकिएको थियो। यसले आवास प्रणालीमा नयाँ परिवारलाई समेट्ने गति निकै सुस्त रहेको देखाउँछ।

हल्टन क्षेत्रमा पनि आवास स्थायित्व कोषमा सहायता माग्नेको संख्या उच्च रहेको अधिकारीहरूले बताएका छन्। त्यहाँका आवास सेवाका निर्देशक ड्यारिल केटरका अनुसार पर्याप्त आम्दानी नहुनु र उच्च घरभाडा नै बासिन्दाका लागि मुख्य समस्या बनेका छन्।

डरहम क्षेत्रमा पनि आकस्मिक आर्थिक सहायता माग्नेहरूमध्ये अधिकांशले भाडा बक्यौता तिर्न सहयोग खोजिरहेका छन्। यस्तै, योर्क क्षेत्रमा अनुदानमा आधारित आवासको प्रतीक्षा सूचीमा २२ हजारभन्दा बढी परिवार छन्। सन् २०२२ यता यो संख्या ४९ प्रतिशतले बढेको छ।

योर्क क्षेत्रको आवास तथा घरबारविहीनता सेवाकी महाप्रबन्धक जोडी डेगानका अनुसार ग्रेटर टोरन्टो तथा ह्यामिल्टन क्षेत्रमा आम्दानीको कम्तीमा ३० प्रतिशत आवासमा खर्च गर्ने बासिन्दाको अनुपात योर्क क्षेत्रमा सबैभन्दा बढी छ।

आवाससम्बन्धी अभियान समूह हाउजिङनाउटीओका संस्थापक मार्क रिचर्डसनले टोरन्टोमा घरभाडा र आम्दानीबीचको अन्तर ठूलो बन्दै गएको बताएका छन्।

उनका अनुसार पूर्णकालीन कामदारले सातामा ४० घण्टा र वर्षमा ५२ हप्ता काम गर्दा पनि वार्षिक करिब ३८ हजार डलर आम्दानी हुन्छ। त्यसको ३० प्रतिशतलाई आवास खर्चका रूपमा छुट्याउँदा मासिक करिब ९०० डलर मात्र उपलब्ध हुने र टोरन्टोमा उक्त रकममा राम्रो आवास पाउन कठिन रहेको उनले बताए।

तर भाडावालको समस्या मात्र नभई साना घरधनी पनि बढ्दो खर्चको दबाबमा रहेको सम्बन्धित पक्षले बताएका छन्। उनीहरूका अनुसार धितोको ब्याज, सम्पत्ति कर, बिमा, मर्मतसम्भार तथा प्रशासनिक खर्च बढिरहेका छन्।

सानो स्वामित्व भएका घरधनीहरूको संगठन स्मल ओनरसिप ल्यान्डलर्डस् अफ अन्टारियोका सदस्य वरुण श्रीस्कन्दका अनुसार घरधनीको लागत बढिरहे पनि प्रान्तले अनुमति दिने भाडा वृद्धि त्यसअनुसार नबढ्दा कतिपय घरधनीलाई सम्पत्ति बेच्नुपर्ने अवस्था आएको छ।

उनले साना घरधनीको संख्या अन्टारियोको भाडाको आवास आपूर्तिमा ठूलो रहेको उल्लेख गर्दै समग्र आवास खर्च घटाउन सके भाडावाल र घरधनी दुवैका लागि दीर्घकालीन स्थायित्व बढ्ने बताएका छन्।

टोरन्टोमा भाडा तिर्न नसकेका योग्य बासिन्दालाई रेन्ट बैंकमार्फत सहायता उपलब्ध गराइन्छ। टोरन्टो महानगरका अनुसार भाडा बक्यौता तिर्न अधिकतम ५ हजार डलरसम्म अनुदान उपलब्ध हुन सक्छ। ५ हजार डलरभन्दा बढी बक्यौता भएका व्यक्तिले पनि अन्य मापदण्ड पूरा गरे सहायता प्रक्रियाका लागि आवेदन दिन सक्ने व्यवस्था छ।

तपाईंको प्रतिक्रिया