• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

नेपाललाई क्यानाडाको साथ: ५० लाख डलर सहायता गर्ने

नेपालTouch
शनिबार भदौ १३, २०८३ | Saturday August 29,2026
-नेपाल टच ग्राफिक्स

टोरन्टो । क्यानाडा सरकारले आपत्कालीन उद्धार तथा मानवीय सहायताका लागि नेपाललाई ५० लाख क्यानेडियन डलर अनुदान दिने घोषणा गरेको छ। ग्लोबल अफेयर्स क्यानाडाले आज विज्ञप्ति जारी गर्दै उक्त सहयोग रकमको घोषणा गरेको हो।

अटवामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा क्यानाडाकी परराष्ट्रमन्त्री अनिता आनन्द र अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री रणदीप सराईले प्रभावित नेपाली तथा क्यानेडियन नागरिकहरूबारे जानकारी दिँदै उक्त सहायता रकम राष्ट्रसंघ, रेडक्रस र क्यानेडियन गैरसरकारी संस्थाहरूमार्फत परिचालन जनाएका छन्।

यो रकमबाट प्रभावित क्षेत्रमा खाद्यान्न, अस्थायी बासस्थान, खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवाहरू प्रदान गरिनेछ। क्यानाडाले आफ्ना आपत्कालीन भण्डारबाट राहत सामग्री पठाउन तयार रहेको समेत जनाएको छ।

नेपालमा रहेका क्यानेडियन नागरिकहरूको सुरक्षा र सहयोगका लागि अटवाले काठमाडौँमा पाँच जना कन्सुलर अधिकारीहरूको टोली खटाएको छ। उक्त टोलीले काठमाडौँस्थित क्यानाडाका अवैतनिक महावाणिज्यदूत र स्थानीय अधिकारीहरूसँग समन्वय गरी काम गरिरहेको छ।

कन्सुलर टोली प्रभावित क्षेत्रमा रहेका क्यानेडियन र उनीहरूका परिवारको खोजी तथा उद्धारमा सक्रिय छ। परराष्ट्रमन्त्री अनिता आनन्दले यस कठिन घडीमा क्यानाडा सरकार प्रभावित परिवारको साथमा रहेको र उद्धार टोली अहोरात्र खटिरहेको बताइन्।

अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री रणदीप सराईले बाढी र पहिरोले पुर्‍याएको क्षति हृदयविदारक रहेको उल्लेख गर्दै आपत्कालीन आवश्यकता पूरा गर्न क्यानाडाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैबीच, क्यानाडा सरकारले नेपाल र चीनको तिब्बत क्षेत्रमा रहेका आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र ट्राभल एडभाइजरी नियमित हेर्न आग्रह गरेको छ।

सम्पर्कविहीन भएका क्यानेडियन नागरिकहरूको खोजीका लागि ग्लोबल अफेयर्स क्यानाडाको २४ सै घण्टा खुला रहने आपत्कालीन सेवा केन्द्रमा फोन, इमेल, वाट्सएप वा सिग्नलमार्फत सम्पर्क गर्न सकिनेछ।

क्यानाडा संयुक्त राष्ट्रसंघको केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोषको प्रमुख दाता हो, जसले नेपालको मानवीय सहायताका लागि २० लाख अमेरिकी डलर छुट्याइसकेको छ।

यस वर्ष क्यानाडाले उक्त कोषमा २ करोड ९० लाख डलरभन्दा बढी योगदान गरिसकेको छ। त्यस्तै रेडक्रसमार्फत पनि नेपाल रेडक्रस सोसाइटीलाई तत्काल कार्यसम्पादन गर्न १० लाख स्विस् फ्राङ्क बराबरको सहयोग पठाइएको छ।

तपाईंको प्रतिक्रिया