• मंगलबार, ४ कार्तिक, २०८३
  • Tuesday, 20 October, 2026
  • X

नेपालदेखि क्यानाडासम्मै जातीय विभेद!

प्रस्तुति : जयराम गौतम

बिहीबार असार १७, २०७८ | Thursday July 01,2021

राजनीतिक, सामाजिक परिवर्तनका कैयौं ठूला घटनाहरु हुँदा पनि विभेद अझैसम्म निर्मूल हुन सकेको छैन। सबैलाई मानवीय दृष्टिले हेर्नुपर्नेमा जात, वर्ण, लिङ्ग जस्ता विभिन्न आधारमा विभेद गर्ने चलन अझै सकिएको छैन।

नेपालदेखि क्यानाडा आएर बसोबास गर्दासम्म विभिन्न पटक जातीय विभेदको घटनामा साक्षी बन्नुपरेको छ। आफैंले त्यस्तो व्यवहार भोग्नु परेको छ। केही घटना यहाँ उल्लेख गर्न चाहन्छु।

मेरो जन्म म्याग्दी जिल्लाको तत्कालीन अरमन गाविसमा भएको हो। त्यहीँबाट एसएसली पास गरेपछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौ गएँ।

अहिले रुपा सुनारलाई डेरा दिन घरबेटीले अस्वीकार गरे जस्तै मैले क्याम्पस पढ्ने बेलामा पनि अवस्था त्यस्तै थियो। त्यस बेला विभेद अझ धेरै थियो।

आफ्नो वास्तविक जात भन्दा कोठा नपाउने डरले म ढाँटेरै डेरा बसें। कतिपय घरमा एउटा परिवार जस्तै भएर बसियो तर उनीहरुले थाहा पाएपछि रातारात डेरा पनि छोड्नु परेको अनुभव छ।

काठमाडौंमा विद्यार्थी हुँदा आफ्नो खर्च आफैं धान्नु पर्ने बाध्यता थियो। तसर्थ, निजी विद्यालयमा पढाएँ, केही समय गोयल ग्रुपमा काम गरें। यस बाहेक अरु पनि अनेकौं काम गरें।

यस्तै संघर्ष गर्दागर्दै शंकर देव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तरको पढाइ सकियो। त्यसपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘आइयुसिएन’ मा काम गर्ने मौका पाएँ।

राजनीति, प्रविधि, शिक्षा, चेतनास्तर धेरै कुरामा परिवर्तन भयो तर जातका आधारमा विभेद गर्न रोकिएको छैन।

त्यहाँ रहँदा आफ्नो क्षमताले भ्याएसम्म दलित आन्दोलनलाई सहयोग पुग्ने किसिमले काम गरें। व्यक्तिगत रुपमा पनि भेदभावका विरुद्ध मेरो सक्रियता थियो।

क्यानाडा आएको २० वर्ष भइसकेछ। यसबीचमा नेपालमा धेरै परिवर्तनहरु भए। राजनीतिक, प्रविधि, शिक्षा, चेतनास्तर आदि धेरै कुरामा उल्लेख्य परिवर्तन भएको छ। तर नेपालमा जातका आधारमा विभेद गर्न रोकिएको छैन।

मलाई अचम्म कतिबेला लाग्छ भने, क्यानाडामा पनि हामीले विभेदको सामना गर्नु परिरहेको छ। यहीँ भएको एउटा घटना उल्लेख गर्न चाहन्छु।

पत्नी र म केही वर्षअघि एउटा पार्टीमा गएका थियौं। सहभागीहरु आआफ्नो हिसाबले रमाइरहेका थिए।

अरु महिलाहरु भान्सामा व्यस्त रहेको देखेपछि मेरी पत्नी पनि त्यहाँ सघाउन गइछन्। उनलाई मुखै खोलेर कसैले केही भनेनन्। पार्टी आयोजक साथीले त्यो देखे।

उनले असहज महसुस गर्न थाले। मुखले त उनले पनि केही भनेनन् तर मैले उनको अनुहारमा मेरी पत्नीप्रति घृणा देख्न थालें।

क्यानाडाको करिब २५ प्रतिशत जनसंख्या क्यानाडाभन्दा बाहिर जन्मिएका मानिसहरुको छ।

त्यस्तो अस्वाभाविक भाव देखेर मलाई त्यहाँ बस्न मन लागेन। पार्टी चलिरहेकै थियो। मलाई उकुसमुकुस भयो। मैले पत्नीलाई घर फर्कौं भने। उनले अझै बेला भएको छैन भन्दै थिइन्।

हामी छोराछोरीलाई घरमै छाडेर गएका थियौं। उनीहरुलाई एक्लै धेरै समय छाड्नु हुन्न भन्ने बहाना बनाएर हामी फर्कियौं। त्यो घटनापछि साथीभाइले बेलाएका ठाउँमा जान पनि अफ्ठेरो लाग्न थाल्यो।

क्यानाडा बहुराष्ट्रियता, बहुसांस्कृतिक, बहुभाषिक भएको देश हो। क्यानाडाको करिब २५ प्रतिशत जनसंख्या क्यानाडाभन्दा बाहिर जन्मिएका मानिसहरुको छ।

यहाँका नीति तथा कानुनहरु त्यही बहुलवादलाई प्रश्रय दिने किसिमले बनाइएका छन्। तसर्थ मलाई लाग्छ, यो देश प्रगतिशील देश हो।

अमेरिका लगायतका अन्य अति विकसित देशहरुसँग तुलना गर्दा क्यानाडाले आप्रवासी, महिला, लैंगिक अल्पसंख्यक, रंगभेदी नीतिमा ती देशहरु भन्दा पहिला र अग्रगामी नीतिहरु अंगीकार गरेको छ।

यस्तो देशका स्थायी बासिन्दा वा नागरिक भइसक्दा पनि नेपालीहरुको मानसिकता मल्ल शासकहरुको पालाको जस्तो हुनु विडम्वना हो।

अर्को घटना पनि उल्लेख गर्न चाहन्छु। मिसिसागा, अन्टारियोमा दुईजना साथीहरुलाई चिनजानकै एक नेपाली साथीको घरको बेसमेन्ट अपार्टमेन्टमा डेरा राख्न मद्दत गरेको थिएँ।

उनीहरु त्यहाँ परिवारकै सदस्य जसरी र नियमित भाडा तिरेर बसेका थिए। घरबेटीलाई कुनै वाधा पनि पुर्याएका थिएनन्।

जातीय विभेदको चक्रले क्यानाडामा पनि हामीलाई छाडेको छैन।

एकदिन अचानक घरबेटीले बेसमेन्ट अपार्टमेन्ट छाडिदिन भनेछन्।

पछि कारण खोज्दै जाँदा थाहा भयो, घरबेटीले मेरा साथीहरु दलित भनेर थाहा पाएछन्। ती घरबेटीले बहाना बनाएर उनीहरुलाई घरबाट निकाले। यो कुरा थाहा पाएपछि मलाई असाध्यै रिस उठ्यो।

त्यो बेला नेपाली नै हुन् भनेर घरबेटीविरुद्ध कुनै कदम चालिएन। क्यानाडामा नेपालीले नेपालीलाई विभेद गरेका अनेक घटनाहरु सुनिन्छ। जातीय विभेदको चक्रले क्यानाडामा पनि हामीलाई छाडेको छैन।

अरु दलित समुदायका मानिसहरु जस्तै म पनि विभेद देख्दै र भोग्दै हुर्किएको हुँ। जातीय मात्र हैन गाउँमा हुँदा वर्गीय विभेद पनि भोगेको छु। नेपालमा विभेदकाे अन्त्य गर्छाैं भन्ने दलकाे विद्यार्थी संगठनमा रहेर पनि काम गरें। 

उमेर सानै थियाे। मसंग मिल्ने एकजना गैरदलित केटी साथी थिइन्। उमेर बढ्दै जाँदा म उनलाई मन पराउन थालें। हामीबीच माया पनि बढ्दै गयो। तर, बिडम्बना समाजले हाम्राे प्रेमलाई जातीय चस्मा लगाई हेर्याे।

अन्धो समाजले हाम्रो प्रेमलाई बीच बाटोमै माटोमा मिलाई दियो। मलाई कुनै शङ्का छैन, त्याे हाम्रो विछाेडका पछाडि जातीय बिभेद नै थियो।

स्कुलमा म जेहेन्दार विद्यार्थी थिएँ। मैले पढेको म्याग्दीको स्कुलमा मसहित १० जनाले प्रथम श्रेणीमा 'सेन्ट अप' परीक्षा पास गरेका थियौं।

त्यो समयमा त्यस कुरालाई ठुलै उपलब्धिका रुपमा लिइन्थ्यो। एसएलसी परीक्षामा राम्रो नतिजा आओस् भनेर विद्यालयले हामीलाई विशेष कोचिङ कक्षाको व्यवस्था गरेको थियो। विद्यालयले कुनै विभेद गरेन।  

परीक्षा केन्द्र सदरमुकाममा भएकाले हामी त्यहाँको एउटा होटलमा भाडामा बसेर परीक्षाको तयारी गरिरहेका थियौं। होटल मालिकलाई मेरो बारेमा थाहा थिएन।

हामी धेरैजना विद्यार्थीहरु त्यहाँ बसेकाले उनलाई त्यसको मतलव पनि भएन। मेरा सहपाठी गैर दलित साथीहरुलाई पनि उनीहरुसँगै रहँदा कुनै समस्या भएको मैले थाहा पाइन। कक्षामा पनि उनीहरुले विभेद गरेको मलाई सम्झना छैन।

मनमा एउटै चिन्ता थियो, होटलबाट कतिबेला निस्कनु पर्ने हो। म परीक्षामा केन्द्रित नै हुन सकिन।

मलाई लाग्थ्यो, होटल साहुले मेरा बारेमा थाहा पाएको भए मलाई त्यहाँ बस्न दिंदैन थिए। सानै उमेरदेखि विभेदका घटना भोगेको कारण म त्यहाँ रहँदा पनि हरहमेसा त्रासमा रहन्थें।

एकदिन हाम्रै गाउँका एक परिचित दाइ घिउ बेच्दै त्यस होटलमा आइपुगेका रहेछन्। उनले मलाई देखे। त्यो घटनापछि मेरा नौनारी गले।

मलाई होटल साहुले थाहा पाउने भयो भनेर डर लाग्न थाल्यो। यदि उसले थाहा पाएको भए मैले सदरमुकामभरी कतै पनि डेरा पाउन मुस्किल हुन्छ भन्ने पीरले सताउन थाल्यो।

परीक्षा शुरु हुन एकसाता मात्र थियो। म मानसिक रुपमा अध्ययनमा केन्द्रित हुनु पर्नेमा त्याे घटनाका कारण बिरामी परें। मनमा एउटै चिन्ता थियो, होटलबाट कतिबेला निस्कनु पर्ने हो। म पढाई र परीक्षामा केन्द्रित हुनै सकिन।

त्यस्तै चिन्ता र डरकाबीच मैले परीक्षा दिएँ। सबै साथीहरुको नतिजा राम्रो आयो तर म शिक्षक, साथी र आफन्तहरुले अपेक्षा गरेबमोजिम प्रथम श्रेणीमा उतीर्ण हुन सकिन। दोस्रो श्रेणीमा उतीर्ण भएँ। शिक्षकलगायत सवैजना आश्चर्यमा परे। तर, किन त्यस्तो भयो भन्ने कुरा मलाई मात्र थाहा थियो।

एसएलसीको अनपेक्षित नतिजाले मेरो जीवनको लक्ष्य फेरियो। विज्ञान विषय पढ्ने योजना बनाएको मैले त्यो बाटो छाड्नु पर्यो। व्यवस्थापन विषय पढ्ने निधो गरें।

बुबाआमालाई सम्झाएर काठमाडौं पढ्न जान दिन मनाएँ। मेरो कलिलो मनमा लागेको थियो, ठूलो शहरमा गाउँ र जिल्ला सदरमुकाममा जस्तो विभेदका घटना भोग्नु नपर्ला।

उनीहरुले आफ्नो असली परिचय लुकाउनु पर्ने र पहिचान नै बदल्नु पर्ने कसले बनायो?

विभेद गर्न काठमाडौं पनि फरक निस्किएन। डेरा नपाउने त्रासका कारण त्यहाँ पनि परिचय लुकाउन बाध्य हुनु पर्यो। घरबेटीले थाहा नपाउनञ्जेल एउटै परिवार जसरी बस्न पाइन्थ्यो, थाहा पाएपछि डेरा छाड्नुको विकल्प नै हुँदैनथ्यो।

त्यसरी कयौं पटक रातारात डेराबाट लखेटिइनु परेको छ। हामीलाई थाहा छ, नेपालमा कयौं दलित साथीहरुले आफ्नो जात र थर बदलेर बाहुन क्षेत्रीको जस्तो सुनिने थर राखेका छन्।

त्यसो गर्नु ठिक कि वेठिक भन्ने बहसतिर अहिले नजाऔं। उनीहरुले आफ्नो असली परिचय लुकाउनु पर्ने र पहिचान नै बदल्नु पर्ने कसले बनायो?

एउटा क्षेत्रीको छोरो गर्वसाथ आफ्नो नाम रामबहादुर मल्ल ठकुरी लेख्छ। अरु विभिन्न जातिले पनि आफ्नो जात वा थर निर्धक्कसँग लेख्न सक्छन्। मैले मेरो नाम सुवास बिके लेख्न किन सक्दिन? मैले किन आफ्नै जात वा थर लेख्न हिच्किचाउनु पर्ने? त्यो महत्वपूर्ण कुरा हो जस्तो मलाई लाग्छ।

२० वर्षअगाडि म मन्ट्रियल, क्यानाडा आउँदा अपरिचितले पनि घरको सदस्य जस्तै हार्दिकताका साथ स्वागत गर्थे। कोही नेपाली पहिलो पल्ट त्यहाँ आउँदा एयरपोर्टमा स्वागत गर्न जाने चलन थियो। जातपातको कुरै हुँदैनथ्यो, मतलवै थिएन।

नेपालीलाई घरघरमा स्वागत हुन्थ्यो। मैले पनि त्यहाँ हार्दिक स्वागत पाएको थिएँ। क्यानाडामा पनि नेपाली समुदाय बढ्दै गयो। समाज बढ्दै जान थालेपछि विभेदका घटनाहरु पनि हुन थाले।

कयौं पटक सँगै खानपिन, उठबस गरेका साथीहरुले नै विभेद गर्न थाले। बहुसांस्कृतिक देशमा बसेर अझै पुरातन सोचाई राख्नु साँच्चै नै अचम्मको कुरा हो।

हामीले देखेका छाैं, क्यानाडामा अझ पनि नजानिदो किसिमको रंगभेद छ। एसियाली मूलका मानिसहरुमाथि आक्रमण भएका घिनलाग्दा घटनाहरु अझै भइरहेका छन्।

काला जातिले अझै पनि सरकार र समाजले समान व्यवहार नगरेको गुनासो गरिहेका छन्। क्यानाडाका शुरुवाती दिनमा कार्यरत एउटा सुसी रेष्टुरेन्टमा गोरा ग्राहकबाट विभेदको घिनलाग्दो रुप देखेको थिएँ।

अमेरिकाभन्दा अगाडि रंगभेद अन्त्य गरेको क्यानाडाको समाजमा जातीय विभेद नसुहाउने मात्र हैन, दण्डनीय कुरा पनि हो।

सहकर्मी तथा व्यवस्थापनबाट कुनै समस्या थिएन तर केही ग्राहकको भाव र भंगिमाले सुसी रेष्टुरेन्टमा हामीलाई पाउँदा सहज रुपमा नलिएको देखिन्थ्यो।

सुसी जापानिज खाना भएकाले रेष्टुरेन्टमा पनि जापानिज कर्मचारी खोजेको हुन सक्छन्। विभेदजन्य कार्य गर्दा हुने दण्डका डरले ग्राहकले त्यस्ता कुरा प्रकट गर्न भने सक्दैनन्।

अमेरिका भन्दा अगाडि रंगभेद अन्त्य गरेको क्यानाडाको समाजमा जातीय विभेद दण्डनीय कुरा हो।

नेपालमा नै जातीय उत्पीडनविरुद्ध समाज कठोर र सरकार आक्रामक बन्दै गएका अवस्थामा क्यानाडा जस्तो खुला र उदार समाजमा अझै पनि पुरातनवादी सोच राख्नु मूर्खता मात्र हो।

नेपाली दाजु, भाइ, दिदी र बहिनीहरुलाई मेरो के आग्रह छ भने, जातीय विभेद गरकै कारण एउटा नेपालीले अर्को नेपालीविरुद्ध प्रहरीमा उजुरी गर्नु नपरोस्। विभेद गरेकै कारण कसैले जेल जानु नपरोस्।

क्यानाडाका कतिपय नेपालीले अझै समान व्यवहार गर्न नजानेकाले त्यस्तो अभ्यास गर्न यहाँका हरेक व्यक्ति र संस्थाहरु लाग्नु पर्छ।

मलाई लाग्छ, एनआरएन क्यानाडाले विभेदका विरुद्ध सशक्त रुपमा बोल्नुपर्छ र त्यसअनुरुप काम पनि गर्नुपर्छ। क्यानाडाका अरु सामाजिक संस्थाले पनि विभेदविरुद्ध काम गर्नुपर्छ।

-कुराकानीमा आधारित

तपाईंको प्रतिक्रिया