• सोमबार, ३ कार्तिक, २०८३
  • Monday, 19 October, 2026
  • X

माइनस ३० डिग्रीको जाडोमा एडमण्टनका तातेको 'जुनियर डान्सिङ स्टार'

नेपालTouch
सोमबार पौष ७, २०८२ | Monday December 22,2025

एडमन्टन। नेपाल हेरिटेज सोसाइटी (एनएचएस) को आयोजनामा क्यानाडाको एडमन्टनमा सम्पन्न 'एनएचएस जुनियर डान्सिङ स्टार २०२५' को उपाधि विद्या खरेलले जितेकी छिन्। शनिबार क्विन एलेक्जेन्ड्रा कम्युनिटी लिगको सभाहलमा भएको प्रतिस्पर्धामा १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै खरेल प्रथम भएकी हुन्।

प्रतियोगितामा आर्या रावल र सुरभी खत्रीले दोस्रो स्थान हासिल गरे भने अदिती पोखरेल तेस्रो भइन्। संस्थाले निया डल्लाकोटी र प्रीशा मैनालीलाई 'उदयमान कलाकार' का रूपमा सम्मान गरेको छ। विजेताहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबैलाई प्रोत्साहन स्वरूप गिफ्ट कार्ड र प्रमाणपत्र वितरण गरिएको थियो।

डा. सुवाश गिरी, नेहा भारती र राजन गिरी निर्णायक रहेको उक्त प्रतियोगितामा ६ देखि १५ वर्ष उमेर समूहका १९ जना बालबालिकाहरूले प्रतिस्पर्धा गरेका थिए। कार्यक्रमको उद्घाटन एडमन्टन निवासी अभिभावकहरूको सामूहिक दीप प्रज्वलन र संस्थाका अध्यक्ष देवेन्द्र कार्कीको स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष मधुसुदन पाण्डेले गरेका थिए।

निर्णायक मण्डलका सदस्य डा. गिरीले प्रतियोगिताको निष्पक्षतामा जोड दिँदै आयोजकको निर्णय प्रक्रियामा कुनै हस्तक्षेप नरहेको स्पष्ट पारे। अन्य निर्णायकहरू नेहा भारती र राजन गिरीले बालबालिकाहरूको नृत्य कौशलको प्रशंसा गर्दै आयोजकलाई धन्यवाद दिए।

सांस्कृतिक प्रस्तुति र आकर्षण

हल बाहिरको तापक्रम माइनस ३० डिग्री सेल्सियसको कठाङ्ग्रिदो जाडो भए तापनि हलभित्रको वातावरण नृत्य प्रस्तुतिले तातिएको थियो। अतिथि कलाकार कृतिका रामको आकर्षक नृत्यले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो। त्यसैगरी आज्ञा लम्सालको एकल नृत्य र अभिभावकहरूको सामूहिक नृत्यले कार्यक्रममा थप रौनक थपेको थियो।

कार्यक्रमको अन्त्यतिर संस्थाका कल्चरल डाइरेक्टर विनय ज्ञवालीले 'सिरानीमा जुनले' बोलको गजल प्रस्तुत गर्दा सहभागी दर्शक भावुक बनेका थिए।

एडमन्टनस्थित विभिन्न संघ-संस्था र व्यक्तित्वहरूको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता थियो। उपस्थित अभिभावक ध्रुव केसीले तातो खाजासँगै यस्तो स्तरीय कार्यक्रम हेर्न पाउनु खुसीको विषय भएको बताए।

अतिथिका रूपमा उपस्थित 'वी एन्ड द वर्ल्ड' का संस्थापक अध्यक्ष मोदनाथ खनालले कार्यक्रमको सफलताको शुभकामना दिँदै यसको निरन्तरतामा जोड दिए। अन्तमा, संस्थाका संस्थापक अध्यक्ष नरेन्द्र अधिकारीले सबैलाई धन्यवाद ज्ञापन गरेसँगै कार्यक्रम औपचारिक रूपमा समापन भएको थियो।

  • भुपेन्द्र शर्मा

तपाईंको प्रतिक्रिया