एडमन्टनमा 'एनएचएस जुनियर डान्सिङ स्टार' प्रतियोगिता हुने
नेपालTouch
एडमन्टन। नेपाल हेरिटेज सोसाइटी अफ एडमन्टन (एनएचएस) ले नयाँ वर्ष २०२६ र क्रिसमसको पूर्व सन्ध्यामा बालबालिकाहरूको लागि विशेष नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ। 'एनएचएस जुनियर डान्सिङ स्टार' नामक यो प्रतियोगिता डिसेम्बर २० गते शनिबारका दिन क्विन एलेक्जेण्डरा कम्युनिटी लीग हलमा आयोजना हुने संस्थाका अध्यक्ष देवेन्द्र कार्कीले जानकारी दिए।
एडमन्टन शहरमा बसोबास गर्ने ६ देखि १५ वर्षसम्मका नेपाली बालबालिकाहरूले यस प्रतियोगितामा सामूहिक वा व्यक्तिगत रूपमा नृत्य प्रतिस्पर्धा गर्न सक्नेछन्। आयोजकका अनुसार, प्रतियोगितामा प्रथम, द्वितीय, र तृतीय हुनेलाई आकर्षक पुरस्कार तथा सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ।
"यस्तो रचनात्मक प्रतियोगिताले बालबालिकाको आत्मविश्वास अभिवृद्धिमा सहयोग पुग्ने विश्वास छ", आयोजकले भनेकोछ।
संस्थाका सचिव सुरज खतिवडाले प्रतियोगितामा सहभागी हुन इच्छुक अभिभावकहरूलाई डिसेम्बर १३ भन्दा अगावै ५ डलर शुल्क तिरेर नाम दर्ता गराउन आग्रह गरेका छन्। आयोजक सदस्य एवं संस्थाका पूर्व अध्यक्ष मधुसुदन पाण्डेले यो प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य बालबालिकामा नेपाली संगीत, भेषभूषा, कला र संस्कृतिप्रतिको रुचि तथा आकर्षण पैदा गर्नु रहेको बताए।
अल्वर्टाको एडमन्टनमा नै पहिलो पटक यस प्रकारको जुनियर प्रतियोगिता हुन लागेको हुँदा धेरै प्रतिस्पर्धीहरूको सहभागिता रहने विश्वास रहेको आयोजक समितिका सदस्य नरेन्द्र अधिकारीले उल्लेख गरे।
-
भूपेन्द्र लामिछाने

सम्बन्धित खबर








.png)





.png)


.png)











तपाईंको प्रतिक्रिया