• मंगलबार, ४ कार्तिक, २०८३
  • Tuesday, 20 October, 2026
  • X

क्यानाडामा छुवाछुत! दलित भन्ने थाहा पाएपछि पण्डितले न्वारान गर्न मानेनन्

नेपालTouch
शुक्रबार असोज २६, २०८० | Friday October 13,2023

टोरन्टो। टोरन्टोको स्कारब्रोमा एकजना पण्डितले दलित बच्चाको न्वारान गर्न अस्वीकार गरेका छन्। पहिलो सन्तानका मातापिता उनको यस्तो व्यवहारबाट आहत बनेका छन्। अपमानित र अन्यायमा परे पनि यो कुरा सार्वजनिक गर्न उनीहरु हिच्किचाइरहेका छन्।

घटनाका पात्रहरूको नामका बारेमा जानकार रहे पनि पीडितको चाहनाको सम्मान गर्दै दुबै पक्षको नाम सार्वजनिक नगर्ने निर्णय नेपाल टचले लिएको छ।

बच्चाको जन्म दुई हप्ता अघि भएको थियो। परम्पराअनुसार, न्वारानको दिन नजिकिँदै गर्दा साथीहरूमार्फत् उनका पिताले दुईजना पण्डितहरूको नाम र फोन नम्बर प्राप्त गरे। उनले पाएको नाममध्ये पहिलो फोन नम्बरमा कल गरेर आफ्नो सन्तानको न्वारान गर्नुपर्ने कुरा सुनाए।

लामै समयदेखि कर्मकाण्ड पेशा गर्दै आएका ती पण्डितले न्वारान गर्न आउने बताउँदै त्यस कर्मका लागि चाहिने सामग्रीको सूचि पठाइदिने पनि बताए।

नाम मात्रै भनेर ती पण्डितसँग कुरा शुरू गरेका बच्चाका पितालाई पण्डितले सम्बादको अन्त्यतिर थर, गोत्र पनि सोधे। थर बिश्बकर्मा भन्ने थाहा पाएपछि पण्डितले आफ्नो बोली फेरेको पीडितको भनाई छ।

‘म यही समाजमा बस्नु पर्छ। तपाईंको बच्चाको न्वारान गरेँ भने मलाई अफ्ठेरो पर्छ’ पीडितले पण्डितको भनाइ नेपाल टचलाई सुनाए, ‘नजिकैको कुनै हिन्दु मन्दिरमा लगेर न्वारान गर्नु होला।’

करिब दुई वर्षअघि क्यानाडा आएका उनी क्यानाडामा यस्तो अवस्था भोग्नु परेपछि अचम्ममा परेका छन्। सुत्केरी पत्नी र बच्चाको स्वास्थ्य स्याहारमा केन्द्रित हुनुपर्ने समयमा नसोचेको परिस्थिसँग जुध्नु परेको पनि उनको दुखेसो छ।

रश्मी काली थापाले फेसबुकमा यस्तै आशयको एउटा लामो स्टाटस(हेर्नुस् स्क्रिन सट)मा लेखेकी छन्, ‘...मेरो एकजना दलित साथीले पहिलो बच्चा जन्माउनु भएको छ। बच्चाको न्वारान गरिदिनु पर्यो भनेर स्कारब्रोमा बसोबास गर्ने कोही पण्डित भनाउँदा पाखण्डीलाई भन्दा शुरुमा हुन्छ भने तर नाम, थर, गोत्र सुनाएपछि अनेक बहाना गरी भ्याउँदिन भने। ठिक छ, भ्याउँदिन भन्नु आफ्नो कुरो हो तर सोझै तपाईं दलित हुँदो रहेछ म यही समाजमा बस्नुपर्छ मलाई भोलि यो समाजले के भन्छ। म तपाईंको बच्चाको न्वारान गर्न सक्दिनँ, अरुलाई भन्नुहोस् वा कुनै इण्डियन हिन्दु मन्दिरका पण्डित बोलाएर बच्चाको न्वारान गर्नुहोस्।’

घटनाका विषयमा रश्मी काली थापाले फेसबुकमा लेखेको स्टाटसको स्क्रिन सट।

अर्का पण्डितबाट बच्चाको न्वारान भइसकेको बताउँदै पीडितले नेपालमा दलित भएको कारण यस्तो विभेद कहिल्यै भोग्नु नपरेको उल्लेख गर्दै बालकका पिताले आफूहरू अपमानित भएको महसुस गरेको जनाए।

‘नेपालमा मेरा गैरदलित साथीहरू थुप्रै छन्। म उनीहरूको घरमा र उनीहरू मेरो घरमा निर्धक्क आउजाउ गर्छौं’ उनले भने, ‘साथीहरू र उनीहरूका परिबारले पनि मलाई कहिल्यै विभेद गरेनन्। हामी दलितमाथि यस्तो व्यवहार पनि गरिँदो रहेछ भनेर क्यानाडामा आएर थाहा भयो।’

क्यानाडामा करिब २० वर्षदेखि बसोबास गर्दै आएका सुवास दुतराज क्यानाडामा दलितमाथि विभेदका धेरै घटनाहरू भइरहेको आफूले थाहा पाएको बताउँछन्। उनी आफैंले पनि विभेद भोग्नु परेको उल्लेख गर्दै ‘मुखमा राम राम, बगलीमा छुरा’ बोक्ने क्यानाडाको नेपाली समाजको व्यवहार देखेर निश्चितबाहेक सार्वजनिक कार्यक्रमहरूमा जानै छाडेको बताउँछन्।

‘दलित भनेर कसले कति बेला अपमान गर्ने हो भन्ने त्रासमा रहनु भन्दा बरू कतै नजाने गर्न थालेको धेरै भयो’ उनले भने।

मानव अधिकारका क्षेत्रमा काम गरेका साथीभाइहरूले नै न्वारानको घटनालाई स्वाभाविक ठानेको प्रतिक्रिया दिएपछि आफूलाई अझ पीडा महसुस भएको उनले बताए।

एनआरएनए अभियन्ता समेत रहेकी थापाले यो घटनाले आफ्नो मन कति भत्भती भएको छ भन्ने कुरा आफूले भन्न नसक्ने उल्लेख गर्दै उनले भोग्नेलाई झन् कति पीडा भएको होला भनेर महसुस गर्न सक्ने बताइन्।

क्यानाडाको मन्दिरमा पनि विभेद?

थापाले आफ्नो फेसबुक स्टाटसमा क्यानाडाको पशुपतिनाथ मन्दिरमा पनि विभेद हुने गरेको आरोप लगाएकी छन्। उनले सोही पोस्टमा लेखेकी छन्, ‘खास कुरा के भने आजको २१ औं शताव्दीमा त्यो पनि क्यानाडामा दलितहरू हिन्दु मन्दिर पशुपतिनाथको मन्दिरमा सकभर नछिरोस् र देवता नछोई टाढैबाट दर्शन गरिदेओस् भन्ने मनस्थिति पुजारी, पण्डितहरू र माथिल्लो जातका मान्छेहरूको मनमा अझै पनि रहेको पाइन्छ।’

‘यदाकदा अझै पनि क्यानाडाको नेपाली हिन्दु मन्दिरहरूमा दलितहरुलाई प्रसाद खाएको भाँडा आफैं माझेर अरु भाडामा नमिसाई ‘उ त्यो पर कुनामा घोप्ट्याई राखिदिनुु पनि भन्ने गरेको कुराहरू सुन्न पाइन्छ। यो सार्है नराम्रो कुरा हो। हो भाँडा त आफूले खाएको आफैंले माझ्नु पर्दछ तर अरु भाडा नछोइकन उ त्यो कुनामा घोप्टो पारेर सुकाई दिनुहोस् भन्ने कुरा के सही हो या गलत?’ उनले फेसबुक स्टाटसमा लेखेकी छन्। 

 

तपाईंको प्रतिक्रिया