एडमण्टनमा नेपाल हेरिटेज सोसाइटीले मनायो सामुहिक जनै पूर्णिमा
नेपालTouch
एडमण्टन। एडमण्टनको नेपाली समुदायले गत शनिबार उल्लासपूर्ण रुपमा जनै पूर्णिमा पर्व मनाएको छ। नेपाल हेरिटेज सोसाइटी (एनएचएस) को आयोजनामा भएको कार्यक्रममा १२० जना भन्दा धेरैको सहभागिता थियो।
हिन्दू परम्परामा पवित्र पर्वहरूमध्ये एक जनै पूर्णिमा मनाउन आयोजना गरिएको कार्यक्रमले सम्पदा संरक्षण, समुदायिक एकता र आध्यात्मिक चेतनामा अभिवृद्धि गर्ने आयोजकको विश्वास छ।
उत्साहजनक सहभागिताले नेपाली संस्कृतिको रंगीन झल्को मात्र दिएन, संस्कृत मन्त्रोच्चारणले वातावरण गुञ्जायमान समेत बनेको थियो। परम्परागत पहिरनमा सजिएका समुदायका सदस्यहरूले पुस्तौँदेखि प्रचलित संस्कारलाई संयुक्त रूपमा पालना गरे।
आयोजक संस्थाकाअनुसार, उत्सवको मुख्य आकर्षण जनै फेर्ने विधि थियो। यसमा हिन्दू पुरुषहरूले धार्मिक शुद्धता र आध्यात्मिक प्रतिबद्धताको प्रतीक जनैलाई नयाँ जनै फेरेर गरे। पूजारी ऋषिराम अधिकारीको नेतृत्वमा सम्पन्न यस विधिमा परम्परागत शुद्धीकरण तथा प्रार्थनाहरू समावेश थिए।

धार्मिक विधिअनुरुप पुरुष, महिला र बालबालिकाको हातमा रङ्गीन धागाहरू बाँधियो। यसरी बाँधिने धागाले वर्षभरी स्वास्थ्य, सुरक्षा र आध्यात्मिक कल्याण प्रदान गर्ने विश्वास गरिन्छ।
यस अनुष्ठानमा बालबालिकाहरू र युवाहरूको पनि उल्लेखनीय सहभागिता रह्यो। आतिथ्यतामा सहयोग गर्नेदेखि सांस्कृतिक छलफलमा भाग लिनेसम्मका काममा देखिएको सक्रियताले उनीहरूमा नेपाली परम्परा जोगाउने चाहना झल्किएको आयोजकले जनाएको छ।
अघिल्लो साँझ आयोजित विशेष कार्यक्रममा युवा सदस्य भविश लमिछानेले जनै पूर्णिमा र रक्षा बन्धनको पौराणिक उत्पत्ति र सांस्कृतिक महत्वबारे जानकारीमूलक प्रस्तुति दिएका थिए। उनले हिन्दू धर्मग्रन्थ र लोककथामा आधारित यस पर्वको पृष्ठभूमि बारे बताए।
कार्यक्रमको अन्त्यमा गरिएको सामूहिक भोजनले समुदायको महत्व र भक्तिभावलाई प्रदर्शन गरेको थियो।
कार्यक्रममा एडमण्टन बाहिरका पाहुनाहरू पनि सहभागी थिए। कार्यक्रम सहभागी हुन बिसीबाट आएका संस्थाका बोर्ड सदस्य रामबाबु पौडेलले भने, “यो केवल परम्परा मात्र होइन। यो आफन्त, साथीभाइ र समुदायसँग पुनःजोडिने अवसर पनि हो।”
संस्थाका सदस्य शिव अधिकारीले भने, “यहाँको हाम्रो जीवन काम, पढाइ र जिम्मेवारीहरूबीच बाँडिएको छ। यस्ता पर्वहरूले हामीलाई केवल संस्कृतिसँग मात्र होइन, एकअर्कासँग पनि पुनःजोडिने अवसर प्रदान गर्छ।”
यस्ता कार्यक्रमहरू सांस्कृतिक जगेर्नाका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आयोजक एनएचएसले यस्ता उत्सवले परम्परा जोगाउने प्रयासका साथै एक्लोपन घटाउने, मानसिक तनाव कम गर्ने र मानसिक स्वास्थ्य सुदृढ गर्न मद्दत गर्ने पनि विश्वास लिएको जनाएको छ।
कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन अध्यक्ष देवेन्द्र कार्कीको नेतृत्वमा संयोजक कृतिनिधि लम्सालको भूमिका महत्वपूर्ण रह्यो। भूपेन्द्र लमिछाने, विनय ज्ञवाली, डोलराज भुर्तेललगायत संस्थाका अन्य सदस्यहरूले सजावटदेखि आतिथ्य सत्कारसम्मको जिम्मेवारी वहन गरेको संस्थाले जनाएको छ ।

सम्बन्धित खबर








.png)





.png)


.png)











तपाईंको प्रतिक्रिया